Back to Articles

स्काउटिङ्गमा समूह गतिशिलता
Group Dynamics In Scouting

Group Dynamics In Scouting Featured Image

समूह गतिशिलता

दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिलेर कुनै कामको लागि संगठित हुनु नै समूह हो। समूह कुनै उद्देश्य प्राप्तिका लागि गठन भएको हुन्छ।

समूह गठनको अवधारणा मानिसको विकास सँगसँगै क्रियाशील भएर आएको देखिन्छ। मानव विकासको इतिहासलाई हेर्ने हो भने मानिसहरूले खेतीपाती गर्न थालेपछि झुण्ड झुण्ड भएर वस्नु नै समूहको अन्तस्करण हो भन्नुपर्दछ। खेतीपातीमा एक अर्कालाई सघाउनु, आफूलाई बढी भएको वस्तु एक अर्कोसँग साट्नु नै त्यस बखतको समूहको काम थियो।

कुनै काममा गति लिएर हिड्नु नै गतिशीलता हो। जस्तो कुनै व्यक्तिलाई भोक लागेको छ, भोक तृप्ति उसको काम / उद्देश्य हो भने उसले खानाको खोजी गर्नुपर्छ। त्यो भोकको अवस्थादेखि खाना प्राप्तिसम्मको अवस्था नै गतिशीलता हो। यसैले समूहमा आवद्ध भएर कुनै काम / उद्देश्य प्राप्तिका लागि गरिने क्रियाकलाप नै गतिशीलता हो।

समूह गतिशीलता किन चाहिन्छ ?

१. सम्बन्ध स्थापनाको आवश्यकता: समूहका अन्य सदस्यहरूसँग सम्बन्ध स्थापना गर्ने उद्देश्यले पनि समूह गतिशीलताको आवश्यकता पर्दछ। किनभने, समूहमा बसेर काम गर्दा एक अर्कोसँग चिनजान हुन्छ र सम्बन्धको विकास हुन्छ ।

२. जानकारीको आवश्यकता: समूहमा आवद्ध भएर काम गर्दा एक अर्कोले जाने बुझेका काम कुर हरू सिकिन्छ/जानिन्छ। नयाँ नयाँ कुराहरू थाहा पाइन्छ। नयाँ नयाँ विचारको विकास हुनसक्छ ।

३. लक्ष्य पूरा गर्ने आवश्यकता: समूहमा आवद्ध हुनुको मुख्य तात्पर्य नै एक्लै गर्न नसकेको काम समूहमा मिलेर पूरा गर्नु हो। समस्याको समाधान खोज्नु हो ।

४. सुरक्षाको आवश्यकता: समूहले आफ्ना सदस्यहरूलाई सुरक्षा एवं रक्षा प्रदान गर्ने भएकोले समूहमा सम्मिलित भएर सदस्यहरूले आफू सुरक्षित रहेको महसुस गर्न सक्दछन्। आवश्यक पर्दा एकले अर्कोलाई सहयोग / सुरक्षा प्रदान गरिन्छ ।

५. राम्रो परिणाम : समूहमा आवद्ध भएर गरेको निर्णय सबैलाई मान्य हुन्छ। किनभने समूहमा सबैले छलफल गरेर ठोस निर्णय निस्केको हुन्छ ।

६. स्वतन्त्रताको भावना: समूहमा सबैले सबैको कुरा प्रस्तुत गर्न पाउने हुँदा प्रजातान्त्रिक प्रणालीको भावना हुन्छ। आफूलाई लागेका कुराहरू आदानप्रदान गर्न पाइन्छ ।

७. क्रियाशील: समूहमा आवद्ध भएर काम गर्दा सबैले आ-आफ्नो विचार भन्नुपर्दा सबै जनालाई सोच्न विवश बनाउँछ। यसले सबैजनालाई क्रियाशील बन्न बाध्य तुल्याउँछ ।

समूह गतिशीलताले नयाँ सोचको विकासमा थप बल, नयाँ गुणको श्रृजना गर्दछ। उदाहरणका लागि सोडियम र क्लोराइड भन्ने तत्व मिलेर नयाँ तत्व नून बन्दछ। अर्थात्, सोडियम र क्लोराइडको सामूहिक गतिशीलताबाट नून भन्ने तत्वको श्रृजना हुन्छ। यसको वैज्ञानिक सूत्र Na + Cl = Salt हो। तर, यिनीहरूलाई छुट्टाछुट्टै राख्ने हो भने यिनीहरूमा आ-आफ्नै विशेषता मात्र हुन्छ। नूनको विशेषता हुँदैन। Na खायो भने मान्छे मर्छ र Cl भनेको शौचालयमा आउने गन्ध हो तर यो २ वटा मिल्दा NaCl अथवा नून बन्दछ। यसैगरी पाइथागोरस थेरमले पनि a2 + b2 = c2 हुन्छ भन्ने प्रमाणित गरेको छ। यस अनुसार a (उचाइ) र b (आधार) को सामूहिक गतिशीलताबाट नयाँ बल / शक्ति निस्कन्छ।

Nature study is the key activity in scouting and guiding.

c = 2√2, a = 2, b = 2
यस चित्रअनुसार a को मान २ र b को मान २ मात्र छ। तर यी दुई मानको गतिशीलताबाट नयाँ मान २√२ हुन्छ। अर्थात् थप मान √२ बढी निस्कन्छ। यो नै समूह गतिशीलताको परिणाम हो।

यसरी समूह गतिशीलताले नयाँ गुण, बल, शक्ति, विचार दिने हुनाले हामीले पनि स्काउटिङ्गमा यसलाई मूल आधार मान्नुपर्दछ। त्यसैले One for all, All for one भन्ने Scouts को कथनलाई हामीले मनन गरी Patrol System अनुसरण गर्नु अत्यावश्यक हुन्छ।

समूहको किसिम :

१. औपचारिक समूह : औपचारिक समूह भनेको संगठनको संरचनाद्वारा परिभाषित एउटा निर्दिष्ट कार्यसमूह हो। औपचारिक समूह, संगठनको लक्ष्य हासिल गर्न गठन गरेको हुन्छ। औपचारिक समूह दुई किसिमको हुन्छ ।

(क) आदेश समूह : यस समूह संगठनको संरचनाद्वारा गठन गरेको हुन्छ। जस्तै : स्काउटको कार्य समिति, संगठनको संचालक समिति।

(ख) कार्य समूह : कुनै खास कार्य वा परियोजना पूरा गर्नको लागि संयुक्त रूपमा काम गर्ने कामदारहरूको (सदस्य) समूह नै कार्यसमूह हो। कार्यसमूहलाई सुम्पेको काम सकिएपछि यो समूह स्वतः समाप्त हुन्छ। जस्तै : महाशिवरात्री क्याम्प उप-समिति, ट्रेकिङ्ग उप-समिति।

२. अनौपचारिक समूह : साझा हित, मित्रता वा सामाजिक आवश्यकताको लागि व्यक्तिहरूद्वारा खडा गरिने समूहलाई अनौपचारिक समूह भनिन्छ। अनौपचारिक समूह विभिन्न खालको हुन सक्दछ।

(क) हित समूह : केही साझा लक्ष्य प्राप्त गर्ने उद्देश्यले एकीकृत हुनु नै हित समूह गठन गर्नु हो। जस्तै: गुठी, टोल सुधार समूह, खानेपानी समूह

(ख) मैत्री समूह : यो समूह विशेष गरि समान आयु, दृष्टिकोण वा समान अभिरुचि लिएर गठन गरेको हुन्छ। जस्तै: बगाले थापा समूह, पौडेल समूह, मध्यान्ह समूह (म्युजिक ब्याण्ड)।

समूह गतिशीलता :

यसैले समूह गतिशीलता भनेको समूहका सदस्यहरू एक अर्कोसँग अगाडि (Face to Face) बसेर आफ्ना विचारहरू आदान - प्रदान गरेर छलफल गरी उचित निर्णयमा पुग्नु हो।

समूह गतिशीलताको धारणा मानव संसाधनको व्यवस्थापनको विकास संगै भएको देखिन्छ। मानव संसाधन व्यवस्थापनको विकासक्रममा प्रारम्भिक दर्शन (Robert Owen), वैज्ञानिक व्यवस्थापन आन्दोलन (Frederick Winslow Taylor) र कल्याणकारी आन्दोलनपछि व्यवहारात्मक विज्ञान आन्दोलनमा आएर विकास भएको थियो। प्रो. Elton Mayo ले सन् १९२७-१९३२ सम्म शिकागोस्थित Western Electric Company मा Hawthorne Experiment सञ्चालन गरेर उत्पादकत्वमा प्रभाव पार्ने विभिन्न तत्वहरूमध्ये मानवीय सम्बन्ध ज्यादै महत्वपूर्ण हुन्छ भन्ने निचोड निकालेका थिए। उनको यो निष्कर्षले मानिसहरूलाई मेशीनको रूपमा व्यवहार नगरी Social Element को रूपमा स्वीकार गर्यो। उनले अनौपचारिक समूह, कुशल नेतृत्व, प्रभावकारी सञ्चार, कार्य उत्प्रेरण, सहभागिता, न्यानो र सौहार्दपूर्ण सम्बन्ध जस्ता मानवीय पक्षलाई विशेष जोड दिएका थिए। यसबाट संगठनलाई प्रणाली दृष्टिकोणबाट हेर्न थालियो र सामाजिक वातावरण, सामाजिक सांस्कृतिक तत्वहरू, समूहगत व्यवहार, संगठनात्मक व्यवहार, समूह गतिशीलता, द्वन्द व्यवस्थापन, व्यवस्थापन विकस तथा संगठनात्मक विकास आदि विषयहरूमा आफ्नो अध्ययन र व्यवहार केन्द्रित गर्न थाल्नुभयो। यसपछि संगठन विकास आन्दोलनको विकास भयो। यस आन्दोलनले परिवर्तनको व्यवस्थापन तथा समूह विकासमा जोड दियो। मानिसले आफ्नो कार्य एवं एक अर्कोसँग अन्तरक्रिया कसरी गर्दछ भन्ने कुरामा ध्यान दिई संगठनका कार्य र परिवर्तनप्रति सकारात्मक दृष्टिकोण श्रृजना हुनेगरी प्रभावकारितामा सुधार हुने खालका कार्यक्रमको कार्यान्वयनमा जोड दिन थाल्यो। यसरी समूह गतिशीलताको धारणा विकास हुँदै गएको देखिन्छ।

The scout master teaches boys to play the game by doing so himself.

समूहलाई गतिशीलता कसरी बनाउने ?

तरिका - १

समूहलाई गतिशीलता बनाउन लिडरको जरूरत हुन्छ। लिडरले समूहमा छलफलको विषय राखी आफूले भोगेका र जानेका बुँदाहरू जानकारी गराई समूहलाई क्रियाशील बनाउन खोज्नुपर्दछ। साथै समूहमा छलफल गर्न खोज्नुको तात्पर्य/उद्देश्य पनि पहिले नै बताउनुपर्दछ ताकि छलफल उद्देश्यभन्दा बाहिर नजाओस्।

तरिका - २

समूहमा छलफल गर्दा लिडरले तरिका १ अनुसार समूहका प्रत्येक सदस्यसँग कुरा गर्ने होइन न कि तरिका २ अनुसारको लिडरले सदस्यसँग एकअर्कामा मात्र छलफल गर्ने पनि होइन। किनकि तरिका १ बाट लिडरको विचार मात्र प्रवाह हुन्छ जब कि तरिका २ बाट लिडर र सदस्यको विचार आदान प्रदान हुन्छ। छलफल गर्दा हरेक सदस्यले एकअर्कासँग पनि आफ्नो विचार आदान - प्रदान गर्नुपर्छ ताकि सबैको विचार अगाडि आई निखारिएको निष्कर्ष निस्किओस्। यसैले छलफल गर्दा तरिका ३ अनुसार सबैले सबैलाई देख्ने गरी बसेर हरेकले एकअर्कासँग पनि कुराकानी गर्नुपर्दछ। यसबाट समूहमा सबैजना सदस्यहरू क्रियाशील हुने मौका पाउँदछन्।

तरिका - ३

अन्तमा समूहमा छलफल गरी आएका बुँदाहरूलाई लिडरले निष्कर्ष निकाल्नुपर्दछ। यसरी समूहलाई गतिशील बनाउन सकिन्छ।

स्काउटिङ्गको मुख्य उद्देश्य प्रत्येक नागरिकलाई शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक र आध्यात्मिक रूपले विकास गरी तिनीहरूलाई क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सक्षम बनाउन योगदान पुर्याउनु हो। संक्षेपमा भन्नुपर्दा स्काउटिङ्गले हरेक व्यक्तिको चारित्रिक विकास गर्न टेवा पुर्याउँछ। यसका लागि स्काउटिङ्गमा Patrol (Group System) लाई आधार बनाएको छ। यसको मुख्य उद्देश्य हरेक व्यक्ति व्यक्तिमा प्रतिस्पर्धाको भावना श्रृजित गराई समूह समूहमा पनि प्रतिस्पर्धा भई काम राम्रो होस् भन्ने सोचाइ हो। यस आधार लाई सफलभूत पार्न Learning by doing को नीति स्काउटमा अपनाइन्छ। यसैले स्काउटिङ्गमा स्वभावतः हरेक व्यक्ति क्रियाशील हुन बाध्य हुन्छ। तर मान्छे को स्वभाव अलग - अलग हुने भएको हुनाले उसलाई गतिशील बनाउन माथिको तरिका ३ अनुसार लिडरले क्रियाशील प्रमुख भूमिका निर्वाह गर्नुपर्दछ।

अन्तमा समूहमा छलफल गरी आएका बुँदाहरूलाई लिडरले निष्कर्ष निकाल्नुपर्दछ। यसरी समूहलाई गतिशील बनाउन सकिन्छ। समूह गतिशीलताको अवधारणा स्काउटका जन्मदाता वेडेन पावेलले सन् १९०७ मा आफूले सञ्चालन गरेको प्रयोगात्मक शिविर क्याम्पदेखि नै अनुसरण गर्नुभएको इतिहास हामीमा छ। उहाँले उक्त क्याम्पमा सहभागी भएका २० जना केटाहरूलाई ४ वटा समूहमा छुट्याई प्रतिस्पर्धात्मक उपायद्वारा Good Result निकाल्नु भएको थियो। यसबाट हामी के भन्न सक्छौ भने आजको Management field को Group Dynamics भन्ने अवधारणा स्काउटिङ्गका प्रवर्द्धक वेडेन पावेलले सन् १९०७ मा Scouting Field मा प्रतिपादित गरिसक्नुभएको थियो, जबकि Management field मा सन् १९२७/२८ तिर आएर मात्र यसको आवश्यकता महसुस गरिएको थियो। त्यसैले Scouting कति बृहत र दूरदर्शी छ भन्ने कुरा जो कोहीलाई बुझ्न राम्रो तथ्य हामीसँग छ। यसबाट Group Dynamics को Concept Scouting बाट नै शुरू भएको भनेर निर्धक्क भन्न सायद हामीलाई अप्ठ्यारो नपर्ला।

Correcting bad habits cannot be done by for forbidding or punishment. - B.P